आख्यानकार गौतमलाई‘आविष्कारी आख्यानकार’ उपाधि

Posted on: 18 December 2022

काठमाडौँ — स्रष्टा ध्रुवचन्द्र गौतम ‘आविष्कारी आख्यानकार’ उपाधिबाट सम्मानित भएका छन् । गौतमको लेखनयात्राको आठौं दशकको पूर्वसन्ध्या तथा ८० औं जन्मोत्सवका अवसरमा आइतबार कमलपोखरीस्थित अग्रवाल भवनमा वसन्त चौधरी फाउन्डेसन र श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले उक्त सम्मान दिएको हो ।

सम्मानित गौतमले आफ्नो उमेरभन्दा लेखनमार्फत पाएको सम्मान आफ्ना लागि अति नै महत्त्वपूर्ण रहेको सुनाए । उनले भने, ‘मेरो उमेर र अरू सबै कुरा मेरा लागि मामुली हुन् । मेरो लेखनको आठौं दशक र लेखनको कदर नै मेरा लागि ठूलो हो ।’ आफू फरक लेखनमा रमाउने सुनाउँदै उनले विज्ञानमा मात्र नभएर समाज, साहित्यमा पनि नयाँ प्रयोग र आविष्कार हुने जिकिर गरे 

कार्यक्रममा गौतमसँग लिएका अन्तर्वार्ता, उनीसँग नजिक भएका, उनलाई चिनेका, उनका पाठकहरूको संस्मरणलाई समेटेर तयार गरिएका र उनका बारेमा अनुसन्धान गरिएका १० वटा लेखहरूसहित ‘ध्रुवचन्द्र गौतम : आविष्कारी आख्यानका दशकहरू’ पुस्तकको समेत लोकार्पण गरिएको थियो । खुमनारायण पौडल र ईशान गौतमद्वारा सम्पादित पुस्तकलाई साहित्यकला मन्दिरका अध्यक्ष चौधरीले प्रकाशनमा ल्याएकी हुन् ।